
(निजगढ नगरपालिकाव्दारा उत्पादित ‘कोरना नियन्त्रणमा हाम्रो प्रयास’ कार्यक्रमको लागि नगरपालिका प्रमुख सुरेशकुमार खनालसंग पत्रकार महेश्वर अधिकारीले गरेको कुराकानी)
निजगढ नगरपालिकामा कोरोना भाइरस प्रकोप संक्रमणको अवस्था कस्तो रहेको छ?
नगरपालिकाका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीबाट हामीलाई अहिलेसम्म प्राप्त सुचनाको आधारमा नगरभित्र कोरना भाइरस संक्रमणको एउटा पनि केश फेला परेको छैन । निजगढमा अहिलेसम्म ३ हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिसकिएको छ । आजको दिनसम्म पनि यहाका बासिन्दामा संक्रमण नदेखिनु हामी सबैको लागि सुखद कुरा हो । तर बाहिरबाट आएका ८ जना व्यक्तिमा संक्रमणको आशंकामा उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा नगरपालिकाको वडा नम्बर ८ र १० मा रहेको क्वारिन्टाइनमा राखिएको छ ।
कोराना संक्रमण नपाइएको भएपनि यसको डरले निजगढमा पनि धेरै मानिस त्रसित देखिन्छन । यसले स्थानीयको मनोविज्ञानमा कस्तो असर पारेको पाउनु भएको छ?
अहिले विश्वका २ सय १० भन्दा बढी राष्ट्रहरुका लाखौंमा संक्रमण देखिएको छ र एक लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन । मृत्यु हुने क्रम अझ दिनदिनै बढदो छ । संक्रमण नियन्त्रण गर्न महाशक्ति भनिएका राष्ट्रहरु पनि विफल भइरहेका छन । यस्तो अवस्थामा सन्सारभरी नै सन्त्रास फैलिएको छ । त्यसैले यसबाट निजगढ पनि अछुतो रहनसक्ने कुरा छैन । तर विश्वव्यापीरुपमा आगोको मुस्लो जस्तै फैलिरहेको यो संक्रमणबाट निजगढका जनतालाई जोगाउन नगरपालिकाले आफनो सिमित स्रोत, साधन, क्षमता, बुद्धि र विवेकको भरपुर प्रयोग गरी काम गर्दै आएको छ । र अहिलेसम्म यस कार्यमा सफलता पनि मिलेको छ । नगरमा रहनुभएका स्वास्थयकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनितिक दलका कार्यकर्ता, स्थानीय समाजसेवी, संचारकर्मीको सहयोगबाट हामीले यसलाई निजगढमा प्रवेश हुनबाट अहिलेसम्म रोक्न सकेको र यो सफलता हात लागेको हो । यो महामारीबाट जोगिइराख्न डर र त्रास भन्दा पनि हामीले सर्तकतापुर्ण व्यवहार गर्न जरुरी छ । यो मौसम परिवर्तन हुने बेला पनि हो । यस्तो अवस्थामा धेरैजसो मानिसमा कोरोनासंग मिल्ने रुघा, खोकी र ज्वरो आउने जस्ता लक्षणहरु पनि देखा पर्नसक्छन । तसर्थ यदि कसैमा यस्तो समस्या देखिहाल्यो भने त्रसित नहुन र स्वास्थ्यकर्मीसंग सम्पर्क गर्न र परेजमा बस्न म सबैसंग अनुरोध गर्न चाहान्छु । यो परिस्थितिमा सबैको लागि स्वास्थ्य सेवा सहज होस भनेर हामीले निजगढको साविक रतनपुरी र भरतगंज गाविसमा ३÷३ जनाको स्वास्थ्यमर्कीको कमाण्डो टोली बनाएका छौं । त्यसैगरी प्रतेक वडामा २÷२ जनाको दरले स्वास्थ्यकर्मीको अर्को टोली पनि खटाइएको छ । हामीले प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक र वडामा खटिएका स्वास्थ्यकर्मीसंग सम्पर्कको लागि मोवाइल नम्बर पनि सार्वजनिक गरेका छौ । कुनै समस्या देखिए नगरपालिकाको मेयर उपमेयरको नम्बरमा पनि सिधै सम्पर्क गर्नसक्नुहुने छ । तत्काल सेवा उपलब्ध हुने व्यवस्था गरेको जानकारी गराउन चाहान्छु । यो लुकाएर लुक्ने, डराएपछि छोडिदिने रोग पनि हैन । त्यसैले कुनै समस्या देखिए कसैको डर त्रासमा नपरी तत्काल स्वास्थ्यकर्मी वा आफना जनप्रतिनिधिहरुलाई जानकारी गराउन हुन म सबैसंग अनुरोध गर्न चाहान्छु ।
निजगढ नगरपालिकाले कोरना भारइरस रोकथामको लागि हाल संचालन गर्दै आएको गतिविधि बारे संक्षिप्तरुपमा जानकारी गराइदिनुहोस न ।
हामीले यसको नियन्त्रण रोकथामको लागि विभिन्न ५ चरणमा काम गर्दै आएका छौ । प्रारम्भिक चरण अन्तरगत एफएम रेडियो, पर्चा पम्प्लेट मार्फत चेतना अभिवृद्धि गर्ने काम भएको छ । शुरुका दिनहरुमा विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक, अभिभावकमा सचेतना कार्यक्रम समेत संचालन गरिएको थियो । त्यसैगरी नगरका प्रतेक घरमा मास्क र हात धुने साबुन उपलब्ध गराइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा आइशोलेशन बेड, नगरका प्रमुख स्थान र प्रतेक वडाहरुमा हेल्थ डेक्स तथा क्वान्टिाइनको स्थापना गरेर स्वास्थ्यकर्मीको जिम्मा लगाइएको छ । यसअघि संक्रमण फैलन नदिन नगरका सबै सडकमा स्प्रे गरेका थियौ । स्वास्थ्यकर्मीलाई थर्मल गन, पिपीइ, सेनिटाइजर, मास्क, पन्जा जस्ता आवश्यक सामाग्री र उपकरण उपलव्ध गराउने कार्य भएको छ । यो रोग आफैमा जटिल प्रकृतिको र हालसम्म औषधि पनि पत्ता नलागिसकेकोले संक्रमण नियन्त्रणको लागि लकडाउन नै सबै भन्दा प्रभावकारी देखिएको छ । त्यसैले अहिले हाम्रो ध्यान यसलाई पुर्णरुपमा कार्यान्वयन गर्नुतर्फ छ । र यसको लागि जथाभावी घर बाहिर ननिस्किन हामीले अपिलमार्फत नगरबासीलाई बारम्बार सचेत गराउदै आएका छौ । प्रतिकार्य अन्तरगत किट लगायतका सामाग्रीको व्यवस्था भैनसकेले कंथमकदाचित कसैमा संक्रमण देखा परेको अवस्थामा हेटौडा वा जनकपुरसम्म पुर्याएर भए पनि उपचार गर्न सकियोस भनेर हामीले ३ वटा एम्बुलेन्स सेवा तयारी अवस्थामा राखेका छौ । साथै, महामारीबाट नेपाल लगायत विश्वको आर्थिक सामाजिक क्षेत्रमा ठुलो क्षेति पुगेको छ र हाम्रो नगरमा पनि यसको प्रभाव पर्ने स्पष्ट देखिन्छ । त्यसैले यसले पार्ने क्षेतिको पुर्ताल र नगरलाई पुरानै अवस्थामा फर्काउनको लागि पनि पुर्नलाभ अन्तरगत गर्नुपर्ने कार्यको योजना बनाएर काम गरिरहेका छौ ।
संक्रमण नियन्त्रण तथा रोकथामको लागि स्थानीय राजनितिक दल, पेसाकर्मी, सुरक्षाकर्मी विभिन्न सामाजिक संघ संस्थासंग समन्वयकारी भुमिका चाही कसरी निर्वाहा गर्दै आउनुभएको छ?
यो धेरै महत्वपुर्ण कुरा हो । । जब देश कलडाउनको अवस्थामा गयो । त्यतिबेला एकाएक सबै संयन्त्र अवरुद्ध बन्यो र पुरै देश ठप्प जस्तै थियो । त्यस्तो अवस्थामा पनि हामीले सिमित कर्मचारी र जनप्रतिनिधिहरुको मद्दतबाट नेपाल सरकार र प्रदेश सरकारको निर्देशन अनुसार काम गर्दै आएका थियौं । तर पछिल्लो अवस्थामा स्थानीय राजनितिक दल, विभिन्न संघ संस्थासंग र पेसाकर्मीसंग पनि समन्वय गरेर काम हुदै आएको छ । सबैले आआफनो ठाउबाट सक्दो सहयोग पनि गरिनै रहनुभएको छ । सबै पक्षसंगको आपसी छलफल र सल्लाहामा नै नगरपालिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि काम अघि बढाउदै आएको र हालसम्मको यो सफलता हात पारेको हो ।
लकडाउन प्रभावकारी हुन नसकेको भन्ने बारेमा के भन्न चाहानुहुन्छ? यसलाई थप प्रभावकारी तुल्याउन के गर्नुपर्ला?
तपाईले भने जस्तो चाही अलि होइन । निजगढमा लकडाउन प्रभावकारी रुपमा नै कार्यान्वयन भइरहेको छ । यसको लागि जनपथ सशस्त्र र ट्राफिक प्रहरीको संयुक्त टोली सक्रिय छ । यो विषयमा निजगगढमा बाहिरबाट प्रवेश गर्ने मान्छेको बारेमा हामी बढी सचेत हुन जरुरी छ, जस्तो मलाई लाग्छ । त्यसैले निजगढ प्रवेश गर्ने मुख्य नाका जस्तै तामागढी, डम्बरपुर, बकैयाको मोहोरी, सिगौलको पिपलटार र पुर्वमा भमरा÷धन्सार क्षेत्रको नाकामा निगरानी बढाइएको छ । उक्त क्षेत्रबाट निजगढ प्रवेश गर्ने मान्छेको चेकजाचको लागि तामागढीस्थित जिल्ला ट्राफिक कार्यलयको चेकिङ्ग प्वाइन्ट र रतनपुरका स्वास्थ्यकर्मीलाई १÷१ वटा थर्मल गनको व्यवस्था गरिएको छ । यसक्रममा बाहिरबाट आएका मानिसहरुमा रुघाखोकीे ज्वरो वा अन्य लक्षण पाइएमा उनीहरुलाई सिधै क्वारिन्टाइनमा पठाउने सामान्य अवस्थामा भए केही दिनसम्म घरमै एकान्तबासमा बस्ने सल्लाहासहित परिवारको जिम्मा लगाएर पठाउने गरिएको छ ।
खाद्यान्न लगायतका उपभोग्य सामाग्रीको किनबेच र ढुवानीको लागि समय तालिका लगायत अन्य कुराको कस्तो व्यवस्था गर्दै आउनुभएको छ?
खाद्यन्न तथा औषधिको सहज आपुर्ति व्यवस्था मिलाउन हामीले व्यापारीलाई शुरुका दिनदेखि नै अपिल गर्दै आएका छौ । त्यसको लागि पहिले औषधि र खाद्यान्न पसल बिहान ७ बजेदेखि ११ बजेसम्ममात्र खोल्न सकिने समय निर्धारण गरिएको थियो । तर केही मान्छेहरुले उक्त समयको दुरुपयोग गरेकोे पाइएपछि हाल बिहान ९ बजेसम्ममात्र पसल खोल्ने समय निर्धारण गरिएको छ । त्यसैगरी खाद्यन्न वितरण कार्यलाई अझ सहज र प्रभावकारी बनाउनको लागि व्यवसायीहरुलाई पासको व्यवस्था गरिएको छ । पास लिएकाले पसलबाट नै सामान बेच्नु पर्छ भन्ने छैन । उपभोक्तासंग अर्डर लिने र ढुवानीका साधनमार्फत घरघरमा डेलिभरी पनि गर्न सकिन्छ । यसले पसल तथा बजारमा अनावश्यक भिडभाड कम हुने र कोरोना रोकथाम नियन्त्रणमा टेवा पुग्ने हामीले महशुरु गरेका छौ । त्यसैले अर्डर अनुसारको प्याकिङ्ग गरेर होम डेलिभरीमार्फत दैनिक उपभोग्य सामाग्री खरिद बिक्रीको प्रवन्ध गर्न म फेरि पनि व्यवसायीसंग आग्रह गर्न चाहान्छु । त्यसैगरी पसलमै गएर खरिद गर्नुपर्ने खण्डमा पनि विश्वस्वास्थ्य संघठनको मापदण्ड अनुसार १ मिटरको दुरी राखेर पालैपालो खरिद बिक्री गर्ने, अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र साबुन पानीले हात धोएरमात्र सामान किनबेच गर्ने व्यवस्था मिलाएका छौ ।
लकडाउन भएपछि दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरुलाई समस्या पर्न थालेको छ । उनीहरुको राहतको लागि नगरपालिकाले के सोच्दै छ?
यो अर्को मार्मिक र महत्वपुर्ण प्रश्न हो । लकडाउनले श्रमिक विपन्न वर्गका मानिसहरुको राजिरोटीमा संकट उत्पन्न भएको छ । उहाँहरुमाथि परेको अप्ठ्यारो हामीले बुझेका छौ र नगरपालिकाले गम्भिर बनेर काम गरिरहेको छ । तर यो विषयमा विगतका दिनहरुलाई पनि एकपटक सम्झनुपर्छ भन्ने मलाई लागेको छ । बिगतमा पनि नेपालमा महिनौंसम्म बन्द÷हडताल हुने गरेको थियो । तर त्यतिबेला राहतको विषय कहिलै उठेन । अहिले हामीले राहतको प्रवन्ध गर्दैछौं । यो एकदम राम्रो कुरा हो । तर राहत भन्दा पहिले आफनो स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने बारेमा चनाखो हुन जरुरी छ । त्यसैले नगरपालिकाले पहिलो फेजमा रोकथामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको हो । र अहिले हामी राहत वितरणतर्फ केन्द्रीत भएका छौ । यसको लागि संघीय र प्रदेश सरकारले पनि मापदण्ड बनाएर पठाएको छ र हामीले पनि नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकबाट छुट्टै मापदण्ड बनाएर वितरण गर्ने तयारी गरेका छौं । वडा स्तरमा वडा अध्यक्ष ज्युहरुको संयोजकत्वमा गठन भएको समितिमार्फत प्राप्त नामावली नगर कार्यपालिकाको बैठकमा छलफल गरेर पारदर्शीरुपमा वितरण गर्ने योजना छ । जसअनुसार लक्षित वर्गको घरघरमा पुगेर राहत सामाग्री प्रदान गर्ने तयारी पुरा भइसकेको छ । त्यसैगरी राहत वितरणको नाममा अहिले कतिपय स्थानमा देखिएको विकृति विसंगति र समस्या दोहोरिन नदिनेतर्फ पनि हामी उत्तिकै सचेत र सजग रहेकाछौ ।
राहतको नाममा दलगत भेदभाव गरिने सामाजिक संजालमा फोटो हाल्नेको लागिमात्र वितरण गर्ने भन्ने जस्ता गुनासा पनि सुनिने गरेको यसप्रति निजगढ नगरपालिका कत्तिको सचेत छ?
यस सन्दर्भमा हामीले सबै वडामा रहेको सर्वदलिय, सर्वपक्षिय समितिलाई कार्यविधि बनाएर दिएका छौं । समितिमा दलहरुका प्रतिनिधि, शिक्षा, स्वास्थ्यका र सुरक्षा निकायका प्रतिनिधि रहने र कार्यविधिअनुसार वितरण गर्नुपर्ने भएको हुनाले भेदभाव हुने कुरा शंभव छैन । त्यसमाथि पनि मैले छुट्टै परिपत्र (निर्देशन) पनि गरेको छु । त्यसैगरी अनियमितता भएको पाइए सम्बन्धित दोषिमाथि कारवाही गरिने कुरा पनि उल्लेख छ । यस्तो अवस्थामा समितिले विभेदरहित तरिकाले वास्तविक पिडितलाईमात्र राहत वितरण गर्ने र राहत वितरणमा अनियमितता हुने कुरा हुनसक्दैन ।
नगरपालिकाले १ करोड २ लाख बराबरको विपद व्यवस्थापन कोष खडा गरेको छ । विभिन्न व्यक्ति र संघ सस्थालाई सहयोगको आह्वान गरिएको छ । दाताको सम्मान गर्ने कुरा पनि भनिएको छ । तर कोषमा बाहिरबाट रकम जम्मा भएको छैन ।
किन यस्तोभएको होला?
यसकोलागि केही व्यवसायी र विदेशमा रहेका साथीहरुले चासो देखाइरहनुभएको छ । तर लकडाउनको कारण रकम जम्मा गर्न केही समस्या र जटिलता उत्पन्न भएको छ । यस्तो अवस्थामा धेरै रकम आउला भन्ने आशा गर्ने ठाउ पनि छैन । तर पनि केही रकम जम्मा हुने क्रम शुरु हुन्छ भन्नेमा म विश्वस्त छु । साथै, फेरि पनि के आह्वान गर्न चाहान्छु भने यो कोषमा जम्मा भएको रकम कुनै व्यक्ति विषेशले पाउने हैन । यो अहिले र पछि पनि निजगढबासी जनतामा पर्नसक्ने विपतमा सहयोग गर्नको लागि बनाइएको कोष हो । हाल कोराना भाइरस रोकथामको लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न र लकडाउनबाट अप्ठेरोमा परेकाहरुलाई राहत दिने कार्यमा प्रयोग गरिन भएकोले गच्छेअनुसार सहयोग गर्नुपर्छ भन्ने मलाई लागेको छ । कोषमा बचेको रकम आगामी दिनमा यस्तै विपतमा खर्च गरिने छ । यो कोष नगद तथा वस्तुगत दुबै किसिमले सहयोग गर्न सकिने छ । यसरी तपाईहरुले दिएको सहयोगको कुनै पनि अवस्थामा दुरुपयोग र हिनामिना हुने छैन । यो कुरामा पनि म सबैलाई आश्वस्त पार्न चाहान्छु । त्यसैले सहयोगको लागि देश विदेशमा रहनुभएका सबैसंग पुन हार्दिक अनुरोध गर्दछु ।
नगरपालिकासंग कोरोना भाइरसको नियन्त्रण रोकथामको लागि पर्याप्त सामाग्री छैन । यस्तो अवस्थामा संघीय र प्रदेश सरकारसंग तपाईको के अपेक्षा छ?
निजगढमामात्र हैन अहिले देश भरी नै सामाग्रीको अभाव छ । आवश्यक सामाग्री सहयोगको लागि संघीय र प्रदेश सरकारसंग बारम्बार अनुरोध गर्दै आएका छौ । तर विदेशबाट मगाउनु पर्ने कारणले त्यो संभव भएको छैन । हामी आफैले पनि व्यवसायीहरुसंग सम्पर्क गरेर आवश्यक सामाग्री खरिद गर्ने पक्षमा छौ । तर अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन । यसको लागि सरकारले यथोचित व्यवस्था गर्न जरुरी छ । त्यसैगरी प्रदेश र संघीय सरकारसंग म अर्को के कुरा पनि अनुरोध गर्न चाहान्छु भने अहिले जसरी प्रदेश स्तरीय अस्पतालहरु खोलिएका छन । यो पर्याप्त छैन । यसलाई विस्तार गरेर हरेक जिल्लामा एउटा कोराना अस्पताल खोल्नुपर्ने देखिन्छ । र हरेक पालिकामा आवश्यक स्वास्थ्य सामाग्री र उपकरण उपलब्ध गराउन पनि प्रदेश र संघीय सरकारसंग माग गर्न चाहान्छु ।
अन्त्यमा, कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि अपनाउनुपर्ने शावधानी बारेमा निजगढबासी जनतालाई तपाई के भन्न चाहानुहुुन्छ?
म सबै भन्दा पहिला विश्वव्यापी प्रकोपको रुपमा रहेको यो संक्रमण रोकथाम नियन्त्रणको लागि पहिलो पङ्गतिमा उभिएर रातदिन नभनी खटनु हुने हाम्रो नगरपालिकका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीहरुलाई धन्यवाद दिन चाहान्छु । त्यसैगरी नगरपालिकका कर्मचारी, जनप्रनिधि, सामाजिक संघसस्था, राजनितिक दलका कार्यकर्ता सबै नै धन्यवादका पात्र हुनुहुन्छ । रोगले सानो÷ठुलो, धनी÷गरिव भनेर हेर्दैन । जुनसुकै बेला जसलाई पनि लाग्न सक्छ । यो हामी सबैको साझा समस्या हो भनेर बुझन जरुरी छ । हालसम्म कुनै औषधि उपचारको पत्ता नलागेको अवस्थामा यसको संक्रमणबाट जोगिने सबै भन्दा प्रभावकारी उपाय भनेको लकडाउन नै हो । भिडभाड नगरी घरमै बसेर मात्र यो रोगलाई जित्न सकिन्छ । तसर्थ, ‘आफु पनि बाचौं अरुलाई पनि बचाऔं ।’ भन्ने मान्यतका आधारमा लकडाउन पुर्ण कार्यन्वयनको लागि सहयोग गर्न म निजगढबासी सम्पुर्ण आमा, बुबा, दाजुभाई दिदी बहिनहरुसंग हार्दिक अनुरोध गर्न चाहान्छु । त्यसैगरी सिमति स्रोत साधनको प्रयोग गरेर हामीले जसरी निजगढलाई सुरक्षित पार्ने काम गर्दै आएका छौं । यसमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद पनि दिन चाहान्छु ।