गठबन्धन सरिक दलहरुबीच वडा अध्यक्षको भागबण्डा गर्न सकस बोहोर्दै आएको निजगढको नेपाली कांग्रेस अहिले पार्टीबाट वडा अध्यक्षहरुको नाम छनौंट गर्न नसकेर अर्को समस्यामा परेको छ । संस्थापन र संस्थापन इतर पक्षका नेता कार्यकर्ताहरुले क्षेत्रीय समितिमा वडा अध्यक्षको लागि छुट्टाछुट्टै नाम पेस गरेपछि निजगढ कांग्रेस समस्या थप बल्झिएको हो ।

स्रोतका अनुसार कांग्रेसको वडा र नगर समितिबाट सिफारिस भएर गएको नाम संस्थापन पक्ष भन्दा इतर पक्षको बर्चश्व रहेको क्षेत्र नम्बर १ क प्रदेश समितिले हटाएर एकपक्षीय रुपमा एक/एक जनाको मात्रै नाम क्षेत्रीय समितिमा पठाएपछि संस्थापन पक्षले पनि क्षेत्र नम्बर १ क्षेत्रीय समितिमा छुट्टै उम्मेदवारहरुको नाम पेस गरेको छ ।

कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार संस्थापन पक्षले निजगढ वडा नम्बर ४ बाट कैलास खड्का, वडा नम्बर ५ बाट सहदेव गौतम, ६ बाट भिमबहादुर स्याङ्गतान, वडा नम्बर ७ नम्बरबाट सुमन लामा, वडा नम्बर ८ बाट नरेश घिमिरे, वडा नम्बर ९ बाट बलदेव मगर र वडा नम्बर ११ बाट शंकर रुम्बालाई उम्मेदवार बनाउन क्षेत्रीय समितिमा नाम पेस गरेको हो ।

सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादव अध्यक्षमा रहेको क्षेत्र नम्बर १ क्षेत्रीय समितिमा संस्थापन पक्षको बर्चश्व रहेको र निजगढमा वडा अध्यक्षको उम्मेदवारी पनि सोहीअनुसार संस्थापन पक्षकाले नै पाउने बताइएको छ ।

क्षेत्र नम्बर १ क समितिले क्षेत्रीय समितिमा पेस गरेका अन्य ६ वटा वडाका अध्यक्षको हकमा भने प्रकृया अनुसार सिफारिस भएको र दुबै पक्षसंग नजिक रहेका उम्मेदवार परेको भन्दै उनीहरुको नाममा भने निजगढको संस्थापन पक्ष केही लचक देखिएको छ ।

कांग्रेसमा वडा अध्यक्षको नाममा अन्तिम निर्णय गर्ने निकाय क्षेत्रीय समिति नै हो ।

नोट : निजगढ वडा नम्बर ४ बाट कैलास खड्का हुनु पर्नेमा अन्यथा भएकोमा सुधार गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय