निजगढ नगरपालिकाको वडा नम्बर १ स्थित राष्ट्रिय वन क्षेत्रभित्र नियम विपरीत लाखौ रुपैया खर्चेर धमाधम सडक ग्राभेलीङ हुदै आएको छ । निजगढ नगरपालिकाको वडा नम्बर १ को नमुना बस्ती हुदै पूर्वपश्चिम लोकमार्गको धनसार पुल नजिकै निस्किने राष्ट्रिय वनभित्रको गोरेटो बाटोमा ग्राभेलीङ भइरहेको हो ।
धनसार खोलाको गिट्टी बालुवा उत्खन गरि सडकमा ग्राभेलीङ हुदै आएको छ । सडक ग्राभेलीङको लागि आवश्यक रकम कहाँबाट जुटाइएको हो भन्ने बारेमा भने जानकारी प्राप्त हुन सकेको छैन ।
राष्ट्रिय वन क्षेत्रभित्रको गोरेटो बाटोमा धनसार खोलाको गिट्टी बालुवा उत्खनन गरि नियमविपरित ग्राभेलीङ भइरहेको अवस्थामा पनि जिल्ला वन कार्यालयले कुनै चासो नदेखाएको स्थानीयले बताएका छन ।
निजगढको पूर्वपश्चिम लोकमार्गबाट सिंगौल जोडिने फराकिलो सडक निर्माण भएपछि स्थानीयले झण्डै २ दशकदेखि सो सडकको प्रयोग गर्न छोडेका थिए । स्थानीयले प्रयोग गर्न छाडेको बाटोमा लाखौं रुपैया खर्चेर ग्राभेलीङ गर्नुको कारण रहस्यमय रहेको स्थानीयको भनाइ छ ।