तीजको व्रत निकै राम्रो प्रतीकात्मक प्रेमको चाड बन्न सक्थ्यो— यदि श्रीमान्–श्रीमती दुवैले एकअर्कालाई माया गरेर उपवास बसेका भए । तर श्रीमतीहरू श्रीमान्को लामो आयु होस् भनेर व्रत बसेको दिनमा, मीठो खानेकुरा पकाइन भनेर गाली गर्ने, झर्कने, फन्कने श्रीमान्हरू पर्याप्त पाइन्छन् ।

कतिपय श्रीमान् त त्यो दिन आनन्दसँग होटलमा बसेर पेटभरी खान्छन् । उस्तै परे मदिरापान गरेर लड्खडाउँदै घर आउँछन् र उसैको नाममा भोको बसेकी श्रीमतीलाई भकुर्न समेत बेर लगाउँदैनन् ।

पञ्चमी व्रतको सम्पूर्ण दार्शनिक पक्ष नै महिलाको शरीरलाई अपमानित गर्न बनाइएको छ ।

महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय भयो भन्ने मान्न सकिन्छ । किनभने गर्भ रहँदा त्यही रज रोकिन जान्छ र भ्रूण आमाको पाठेघरभित्र बढ्दै जान्छ । त्यही रजबाट बनेको बच्चा कसरी पवित्र भयो होला त ?

मलाई १२ वर्षको उमेरमा पहिलो चोटि रजस्वला भएको थियो । भोलिपल्ट दशैं परेकोले मैले मीठो खान, राम्रो लाउन, दशैंको दक्षिणा पाइन्न भन्ने डरले यो कुरा कसैलाई पनि भनिनँ । दशैंको टीका थाप्ने, दक्षिणा लिने, मन्दिर जाने, सबै गरें ।

त्यो बेलामा मैले पाप गरेर भगवानले सात कक्षाको जाँचमा फेल गराइदिन्छन् कि भन्ने अलिअलि डर थियो । तर सात कक्षामा राम्रैसँग पास भएपछि मलाई ‘ए भगवान रिसाएका रहेनछन्’ भन्ने लाग्यो । त्यसपछि म महीनावारी सम्बन्धी सम्पूर्ण अन्धविश्वास र मान्यता तोड्न पुगें ।

म के कुरामा विश्वास गर्न थालें भने भगवानले दिएको यो शरीरलाई कसरी प्राकृतिक प्रक्रियाबाट गुज्रिंदा अपवित्र मान्न सकिन्छ ? यदि धार्मिक मान्यतामा विश्वास गर्ने हो भने पृथ्वी देवी, सूर्य भगवान र किताब सरस्वती हुन् । उनीहरूलाई नछोएर कसरी बस्ने ?

पञ्चमी व्रतको लागि पण्डितजीहरूले कुनै विज्ञानसम्मत तर्क दिनुभएको खण्डमा भिन्दै कुरा नत्र महिलाले आफ्नो शरीर र प्राकृतिक प्रक्रियालाई नै पाप भनेर पखाल्नका लागि क्षमा माग्दै पूजा गर्ने हो भने उनीहरूले कसरी आफ्नो अस्तित्वप्रति गर्व गर्ने होला ?

आफ्नो विवाहको प्रथम वर्षमा तीजको व्रत लिएकी मेरी एकजना दिदी पूजा गर्न हाम्रो घरमा आएकी थिइन् । म बेलुकीपख स्कूलबाट आएर बासी भातमा लसुन, प्याज, जीरा हालेर भुटी मीठो मानेर खाइरहेकी थिएँ । दिदी भान्सामा आइन्, मेरो थालमा लोभलाग्दो आँखाले हेरिन् । मैले ‘खाने ?’ भनेर सोधें । ‘अँ’ भनेर भुटेको भात चार गाँस मुखमा हालेपछि, तीजको व्रत बसेकी दिदी छिटोछिटो गाँस निल्दै, मुख कुल्ला गरेर पूजा गर्ने ठाउँमा गइन् । मेरी दिदीलाई अहिलेसम्म पनि म जिस्क्याउँछु ।

यदि कुन्तीले तीजको व्रत बस्नु परेको भए कसको नाममा बस्थिन् होला ? आफ्ना नपुंसक पति पाण्डुको नाममा वा ती देवताहरू जो उनका सन्तानका बाबुहरू थिए ! द्रौपदीले पाँच जना पतिको नाममा तीजको व्रत बस्दा शायद २४ घन्टालाई पाँचले भाग गरेर हरेक श्रीमान्को लागि घन्टा–घन्टामा बस्थिन् कि ? इन्द्रबाट बलात्कारको शिकार भएकी अहिल्यालाई उनका ऋषि पतिले छोडिदिएपछि पनि, तीजको व्रत बस्दा ती ऋषिको आयु लामो होस् भनेर बस्थिन् कि ? यस्ता प्रश्नहरू सोधियो भने शायद हिन्दू धर्म वा संस्कृति विरोधी भनेर हप्काइएला ।

महिलाले पुरुषको लागि व्रत लिन्छन् र पुरुषको आयु बढ्छ भने महिलाको लागि पुरुषले व्रत लिएर महिलाको आयु बढाउने काम किन नगर्ने भनेर प्रश्न सोधेमा त यो समाजमा भूकम्पै जाला ।

धर्म, कर्म, संस्कृतिका सबै कर्म, व्रत आदि महिलाले गर्नुपर्छ भनेर उनलाई अघि सारिन्छ । अनि जब दान, धर्म गर्दा पैसा लिने कुरा आउँछ पुरोहितहरू जहिले पनि पुरुष हुन्छन् । ‘पुरुषहरूको शरीर पवित्र हुन्छ, महिलाको शरीर नछुने हुने भएकोले अपवित्र हुन्छ’ भन्ने जस्ता तर्क गरिन्छ । महिलाको शरीरलाई अपवित्र मान्ने पुरुषले कसरी विचार गर्ला कि त्यो अपवित्र शरीरले व्रत बस्दा उनको आयु बढ्छ ?

हिन्दू संस्कृतिमा पुराना र नयाँ सबै उपवास प्रायः महिलाले गर्छन् । चाहे सत्यनारायणको पूजा होस्, चाहे सन्तोषी माताको व्रत । पुरुषहरूले व्रत बसेको कहिल्यै सुनिएको छ ?

४४ वर्षको उमेरमा मेरी आमा विधवा हुनुभयो । उहाँलाई कुनै तीजको व्रत, कुनै ऋषि पञ्चमीको व्रत, कुनै प्रदोष वा कुनै चतुर्दशीको व्रतले पनि विधवा हुनबाट बचाउन सकेन । मेरी आमा जस्तै मेरी ठूलीआमा, फुपू बज्यै, सुदूरपश्चिममा बालविवाह भएका कतिपय दिदीबहिनी र काकीहरू छन् । किन उनीहरूको श्रीमान्को आयु बढेन होला ?

किनभने पञ्चमीको दिनमा व्रत बसेर, पूजा गरेपछि महिलाले रजस्वला हुँदा कुनै पवित्र वस्तुलाई छोएर पाप गरेको छ भने त्यो पखालिन्छ भन्ने मान्यताले गरिन्छ । त्यसरी महिलाको शरीरको प्रक्रियालाई नै अपमानित गर्ने ‘व्रत’ बसेर महिलाले के आफ्नै अस्तित्वलाई अपमानित गरिरहेका छैनन् ?

मेरो आमाका दौंतरीहरू– काकी, ठूलीआमा तीजको व्रत बसेर पूजाआजा गर्छन्, चढाइएका फलफूल, दक्षिणा, वस्त्र आदि सबै पुरोहितलाई खुशीसाथ दिन्छन् । किन महिला पुरोहितहरूलाई त्यो दान नदिएको होला, त्योतर्फ पनि कहिल्यै हामीले विचार गरेका छौं ?

जुन दिन महिलाहरू पतिको लामो आयुको लागि व्रत बसेका हुन्छन् त्यही दिन कतिपय पुरुष भट्टीमा आफ्नो कलेजो जलाएर मदिरापान गर्दै हुन्छन्, कतिपय पुरुष पाँचतारे होटलमा बसेर आनन्दसँग मासुभात खाइरहेका हुन्छन् । कुनै पनि पुरुषले ‘मेरी महिलाले व्रत बसेकी छिन् म पनि उनलाई साथ दिन्छु’ भनेर कसैले भनेको छ ?

एकजना प्रबुद्ध पुरुषले मलाई भनेका थिए, ‘विदेशीहरू हाम्रो संस्कृतिको कति आदर गर्छन् । तीजको बेलामा रातो लुगा लगाएर महिलाहरू मन्दिर जाँदा कति भव्य दृश्य देखिन्छ । कति श्रद्धा गर्दा रहेछन् महिलाहरूले आफ्ना पतिलाई भनेर विदेशीले भन्छन् ।’ उनको कुरा सुनेर मैले भनें, ‘विदेशीलाई एक दिनको रमाइलो होला तर तीजको व्रत बस्ने कुरा त दर्शनसँग जोडिएको छ, जसले नारी जातिलाई अपमान गर्छ । यदि त्यो कुरा विदेशीलाई बुझाउन पाए वा किन पुरुषहरूले चाहिं महिलाको लागि व्रत बस्दैनन् भनेर ती विदेशीले सोधे भने के भन्नुहुन्छ ?’ मेरो कुरा सुनेर ती प्रबुद्ध नागरिक चुप भए ।

मैले अर्को प्रश्न गरें– ‘श्रीमतीले तीज, पञ्चमीको व्रत बस्दा तपाईं पनि व्रत बस्नुहुन्छ ?’ ती नागरिकले मलाई ठूलो आँखाले हेरे, ‘कस्ती नास्तिक रहिछ्यौ ? कस्तो मूर्खतापूर्ण प्रश्न ? कहिल्यै लोग्नेले पनि स्वास्नीको लागि व्रत बस्छन् ? हाम्रो धर्मग्रन्थमा यसरी पुरुष पनि व्रत बस्छन् भनेर लेखिएकै छैन’ ती प्रबुद्ध नागरिक फटाफट् हिंडे । यसको अर्थ थियो उनी आफ्नी श्रीमतीको लागि व्रत बस्ने काम गर्दैनन्, उनी त केवल आफ्नी श्रीमती व्रत बस्दा मात्रै खुशी हुन्छन् ।

किन होला धर्मग्रन्थमा केवल महिलाहरूको लागि व्रत बनाइएको ? कि पुरुषहरू यति कमजोर हुन्छन् कि एक दिन भोकै बसे बिरामी भइहाल्छन् ? यदि त्यसो हो भने त कति महिलाहरू गर्भावस्थामा, बिरामी हुँदा, लामो यात्रा गर्दा पनि अन्न–जल नखाएर बसेकै हुन्छन्, पतिको दीर्घायुको लागि । बिरामी महिलाले बसेको बिरामी व्रतले कसरी पतिको आयु बढाउँछ होला ? बिरामी भएर प्याकप्याक परेको बेलामा, गर्भावस्थामा गर्भको शिशुले पानी दे, खान दे भनेर गर्भवती आमालाई पानी र खानेकुरा मागिरहँदा त्यस्तो आत्माले विलौना गरेर बसेको व्रतले कहींं धर्म हुन्छ ? कहीं पतिको आयु बढ्छ ?

तीजको व्रतलाई अब आधुनिकीकरण गर्नु परेको छ भनेर आवाज पनि उठिरहेका छन् । त्यो पनि गज्जबै छ । तीजको दिनलाई आफ्ना गहना, लुगा देखाउने; अनेक किसिमका लिपिस्टिक र शृंगारको होडबाजी गर्ने अर्को चलन पनि आउन थालेको छ । मेरो छिमेकीले तीजको दरमा कुखुरा काट्छ भने म खसी काट्छु वा मेरो छिमेकीले घरमा आफ्ना चेलीबेटीलाई बोलाउँछ भने म त होटलमा बोलाएर खुवाउँछु भन्ने होडबाजी चल्न थालेको छ शहरी क्षेत्रमा ।

त्यसैले त तीजका लागि विशेष गहना र लुगाहरू बजारमा आउँछन् र नचाहँदा नचाहँदै पनि किनिन्छन् धाक र रवाफ देखाउन । उपहारहरूलाई पनि पैसासँगै तौलेर हेर्ने चलन बढेको छ । कसैलाई स्नेहपूर्वक चुरा वा सारी दिइयो भने (सस्तो खालको दिइयो भने) आलोचना पनि गर्छन् । यसरी पैसासँग मात्र तुलना गरेपछि त प्रेमको के महत्व रह्यो र ?

यसरी एकातिर नारीहरूलाई अपमानित गरिरहेको छ भने आधुनिकीकरण भएको तीजको नाममा यस पर्वको व्यापारीकरण भइरहेको छ । तर, दुवै ठाउँमा महिला मौन छन् । उनीहरूलाई अपमानित र व्यापारीकरण भएको थाहै छैन ।

मैले तीजको व्रत कहिल्यै पनि लिइनँ । किनभने म व्रत बसेर पतिको आयु बढ्छ भन्ने कुरामा विश्वासै गर्दिनँ । म त पतिको मोटोपन घटाउने सल्लाह दिएर, योग र व्यायाम गर्न उत्प्रेरित गराएर, चुरोट र रक्सी छोड्न आग्रह गरेर पतिको आयु बढाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय