
काठमाडौं तराई-मधेश द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले चालू आर्थिक वर्षमा थप ९ अर्ब ४० करोड रुपैयाँ बजेट माग गरेको छ । चालू आर्थिक वर्षका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टिएकोमा कामलाई तीब्रता दिन भन्दै सेनाले थप बजेट माग गरेको हो ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले खर्च पुनरावलोकन गरेर थप माग गर्दै रक्षा मन्त्रालयमा पत्र पठाइएको बताए । रक्षामार्फत सेनाको प्रस्ताव अर्थ मन्त्रालयमा जाने छ ।
त्यसो त सेनाले यसअघि थप २३ अर्ब रुपैयाँ माग गरेको थियो । सैनिक स्रोतका अनुसार सार्वजनिक खरिद ऐन र नियमावलीका कारण ठेक्का प्रक्रियामा समय लाग्ने भएपछि सबै खर्च गर्न सम्भव नहुने निष्कर्षसहित रकम घटाएर नयाँ प्रस्ताव पठाइएको हो ।
सैनिक प्रवक्ता पौड्यालका अनुसार हालसम्म द्रुतमार्गमा १६.१० प्रतिशत प्रगति भएको छ । ‘यो आर्थिक वर्षको अन्त्यमा २१.२० प्रतिशत पुर्याउने लक्ष्य छ’ उनले भने, ‘अहिले सुरुङ मार्गको डिजाइनको काम सकिएको छ र निर्णय हुने प्रक्रियामा छ ।’ फास्ट ट्याकमा महादेवटार, धेद्रे र लेन डाँडामा गरी ६.४ किलोमिटर सुरुङमार्ग बन्ने छ ।
द्रूतमार्गमा विशेष प्रकृतिका १६ र अन्य ७१ वटा गरी ८७ वटा पुल पनि निर्माण हुनेछन् । प्यासेन्जर अन्डर पास १२, ओभरपास एउटा, सवारी अन्डरपास ५ र ओभरपास ४ वटा पनि रहनेछन् ।
सरकारले चार वर्षभित्र निर्माण सक्ने गरी २७ साउन २०७४ मा फास्ट ट्रयाक निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको थियो । तर समयमा काम नसकिने भएपछि सेनाले ११ वटा प्याकेज बनाएर काम गरिरहेको छ ।