लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेश सरकारको दोस्रो मुख्यमन्त्री नियुक्त भएका छन्।

केसीलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले बुधबार ३ बजेसम्मको लागि समयसिमा तोकेर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार गठनका लागि आव्हान गरेका थिए।

सोही अनुसार बिहिबार बिहान ११ बजे नै चारदलीय गठबन्धनको समर्थनमा मुख्य मन्त्रीमा केसीले दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्ती गर्दै सपथ खुवाएका हुन्।

उनलाई ४२ जना सांसदले मुख्यमन्त्रीको लागि समर्थन गर्दै हस्ताक्षरसमेत गरेका थिए। नवनियुक्त मुख्यमन्त्री केसी २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनमा रोल्पाको निर्वाचन क्षेत्र ‘क’ मा वाम गठबन्धनबाट निर्वाचित भएका हुन्। केसीले नेपाली कांङ्ग्रेसका शेरबहादुर महरालाई ८ हजार १ सय ११ मतान्तरले हराएका थिए।

शान्तिकालमा लाभको पद नलिएका नेताको रूपमा गनिने केसी माओवादी केन्द्रका सचिवालय सदस्यसमेत हुन्। २०२७ साल माघ १० गते बुबा टीकाराम केसी र आमा रजमता केसीका कान्छो छोराको रुपमा जन्मिएका केसीका अरू ५ दाजु छन्।

माओवादी जनयुद्वमा कमाण्डरसमेत रहेका केसी माओवादी भित्र सोनामको नामबाट परिचित छन् ।

उनी विद्यार्थी संगठनबाटै राजनीतिमा होमिएका थिए। २०४६ देखि २०४७ सम्म पार्टीको विद्यार्थी संगठनमा दाङ जिल्ला सचिवको जिम्मेवारीको रूपमा काम गरे। औपचारिक रूपमा २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरेका केसीलाई २०४८ सालमा पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दिएको थियो।

२०४७ सालमा प्राथमिक तहको स्थायी शिक्षक बनेका केसीले २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला रोल्पा सदरमुकाम लिबाङ पुगेको बेला कालोझण्डा देखाएपछि जागिर गुमाएका थिए।

जागिर गुमेपछि सार्वजनिक मुद्दा लागेका केसीले २०५० देखि नै अर्धभूमिगत बनेर पूर्णकालिन राजनीतिमा होमिए। माओवादीले जनयुद्वको शुरूआत गरेको रोल्पाको होलेरी प्रहरी चौकीमा गरिएको आक्रमणमा पनि केसी संलग्न थिए। जनयुद्वकालमा केसीले साढे दुई वर्ष जेल जीवनसमेत बिताएका थिए।

२०५२ फागुन १ देखि माओवादीमा भूमिगत बनेका केसीसँगै उनकी पत्नी ताराकुमारी घर्ती पनि जनयुद्वमा होमिएकी थिईन्। घर्ती पनि २०६४ को पहिलो संविधान सभामा समानुपातिकतर्फ सभासद बनेकी थिइन्। केसीका दम्पत्तीका एक छोरी र एक छोरा छन्।

केसी २०६० सालमा पार्टीको बैठकको लागि भारत जाँदा पटनाबाट गिरफ्तार भएका थिए। उनीसँगै पत्नी ताराकुमारी पनि गिरफ्तार भएकी थिईन्। केसीले ३ वर्ष ३ महिना र श्रीमती ताराले ३ वर्ष भारतको बक्सर जेलमा बन्दी जीवन बिताए।

माओवादी आन्दोलनले विस्तारै गति लिन थालेपछि २०५५ सालमा दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको जिम्मेवारी केसीले नेतृत्व गरेका थिए। २०५६ सालमा भेरी–कर्णाली शैन्य कमिसार हुँदै केसी २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। २०५९ सालमा, एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिएका थिए।

२०६३ सालमा जेलमुक्त भएपछि सोनाम पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए। त्यसपछि उनले नारायणी–भेरी–कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी सम्हाले।

शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएल इन्चार्जको जिम्मेवारी दिएको थियो।

तत्कालीन अवस्थामा माओवादीबाट अलग हुँदा मोहन वैद्य समूहमा लागेका केसी रामबहादुर थापा बादलको समूह सँगै पुनः माओवादी केन्द्रमा फर्किएका थिए। संयुक्त घोषणापत्रका आधारमा चुनावी मैदानमा गए पनि एमाले र माओवादी एक नहुँदासम्म सोनाम माओवादी केन्द्र संसदीय दलको नेता बनेका थिए।

पार्टी एकीकरण भएर नेकपा बनेपछि भने पार्टीको प्रदेश सह-ईन्चार्जसहित संसदीय दलमा उपनेतासँगै शंकर पोखरेल नेतृत्वको सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा आएपछि केसी पुनः पार्टी संसदीय दलको नेतासँगै गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

जनयुद्वमा लाग्दा अध्ययनलाई अगाडि बढाउन नसकेका केसीले प्रविणता प्रमाणपत्र तहसम्म मात्र अध्ययन गरेका छन्। उनले सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेसिका र दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका छन्।

हक्की स्वभावका मुख्यमन्त्री केसीले मनमा लागेको कुरा व्यक्त गरिहाल्ने बानीका कारण आलोचित भईरहन्छन्। सरकारमा रहँदा वा विपक्षमा रहँदा पनि उनका अभिव्यक्ति कडा मानिन्थे।

भाषणबाजीमा कला भएको नेताको रूपमा मानिने केसी आफैंले व्यक्त गर्ने अभिव्यक्तिका कारण विवादमा आइरहन्छन्। प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव संसदमा पेश हुँदा उनी सबैभन्दा बढि आलोचित बने।

तत्कालिन प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु रोष्टम घेर्न पुग्दा दिएको उनको अभिव्यक्ति संसदीय अभ्यासमै असोभनीय थियो। विपक्षी दलको चर्को आलोचनापछि केसीको उक्त अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइएको थियो।

उनले विपक्षी दलका सांसदहरुलाई ‘घिसारेर फाल’ भन्दै रोष्टमबाट बोलेका थिए। जुन कुराको चर्चा अहिले पनि भईरहन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय