स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट इन्टरनेसनल एजीले पछि हट्ने संकेत दिएपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (एनआईए) निर्माण फेरि अनिश्चिततातिर धकेलिने देखिएको छ । निर्माणसम्बन्धी प्रस्ताव पेस गर्न जुरिचलाई दोस्रो पटक दिइएको म्याद असोज १४ मा सकिँदै छ ।
जुरिच भने कोभिड–१९ पछि उत्पन्न परिस्थिति र निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) लगायतलाई देखाएर दोस्रो पटकको म्याद पनि यत्तिकै गुजार्दै छ । यसअघि निर्माणसम्बन्धी प्रस्ताव पेस गर्ने ४५ दिने म्याद पनि जुरिचले यत्तिकै गुजारेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राख्दै निर्माणका लागि जुरिचलाई चुनेको थियो ।
लगानी बोर्ड नेपालले यसअघि जुरिचलाई विमानस्थल निर्माणका लागि ०७६ को १८ फागुनसम्म विस्तृत प्रस्ताव पेस गर्न समय दिएको थियो । जुरिचले त्यतिबेला पनि विभिन्न कारण देखाएर पुनः समय मागेपछि अन्तिम पटक भन्दै लगानी बोर्डले प्रस्ताव पेस गर्ने समय असोज १४ सम्म दिएको थियो । लगानी बोर्ड नेपालले भने म्याद सकिनै लाग्दासम्म प्रस्ताव पेस नगरेपछि नेपाल सरकारसँग सोध्नुपर्ने र निजगढ विमानस्थलबारे प्रस्ट हुनुपर्ने केही बुँदा भए आगामी सोमबारसम्म सोध्न जुरिचलाई भनिसकेको छ ।
स्रोतका अनुसार जुरिचले निजगढ विमानस्थलबारे सर्वोच्च अदालतबाट सफाइ चाहेको छ । विमानस्थल निर्माणका लागि काटिने रूख र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) खारेजीसम्बन्धी दुई मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । बिनायोजना हचुवाको भरमा सयौं वर्ष पुराना लाखौं सालका रूख काट्दा वातावरणीय विनाश निम्तिने भन्दै वातावरण तथा नागरिक अभियन्ताहरुले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको इजलासले उक्त विषयलाई बृहत् पूर्ण इजलासमार्फत टुंगो लगाउनुपर्ने ठहर गरेको थियो । त्यसअघि नै निजगढ क्षेत्रमा तत्काल रूख कटानको विषय अघि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । बहस जारी रहेकै बेला गत जेठमा पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको उच्चस्तरीय सहजीकरण समितिको पाँचौं बैठकले विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
सरकारले यो वर्षको नीति तथा कार्यक्रममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरिने उल्लेख गरेको थियो । विभागको आग्रहअनुसार प्रदेश २ को वन मन्त्रालयअन्तर्गतको डिभिजन वन कार्यालय बाराले रूख गणना गरिरहेको छ । बाराका डिभिजन वन अधिकृत मन्जुर अहमदका अनुसार १ हजार ९ सय हेक्टरलाई १२ वटा ब्लक बनाएर रूख गणना अघि बढाइएको छ । १२ मध्ये २ वटा ब्लकमा रूख गणना सकिएको छ । इआईएमा विनमास्थल निर्माणका लागि साना ठूला गरी साढे २४ लाख रुख काट्नुपर्ने उल्लेख छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ४ खर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान छ ।