अहिले भारतमा दिनानुदिन कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढिरहेको छ । तर, छिमेकी मुलुक पाकिस्तान भने अहिले सामान्य अवस्थामा फर्किने क्रममा छ ।

कुनै समय कमजोर स्वास्थ्य प्रणाली, कमजोर अर्थतन्त्र लगायतका कारणले कोरोना भाइरसको महामारी फैलिने अनुमान गरिएको पाकिस्तान अहिले महामारीविरुद्धको लडाइँमा सफल मुलुक बन्न पुगेको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ३३० नयाँ संक्रमित फेला परेका छन् । साथै उक्त अवधिमा पाँचजनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या दुई लाख ९९ हजार २३३ पुगेको छ भने कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६ हजार ३५० पुगेको छ ।

पाकिस्तानमा कोरोना भाइरसको संक्रमण हेर्ने हो भने त्यहाँको संक्रमण नियन्त्रणमा आउने क्रममा देखिन्छ । यद्यपि पाकिस्तानले कोरोना भाइरस नियन्त्रणका लागि नेपालमा जस्तै कडा किसिमको लकडाउन गर्ने, अत्यधिक मात्रामा परीक्षण गर्नेलगायतका काम भने गरेन ।

पर्याप्त परीक्षण नगरिएकाले संक्रमण कम देखिएको विशेषज्ञहरुले दाबी गर्दै आएका छन् । साथै उनीहरुले पाकिस्तानमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको बताउँदै पनि आएका छन् । तर, परीक्षण र कोरोना संक्रमितको अनुपात हेर्दा पनि पाकिस्तानमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमै देखिन्छ ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा २३ हजार ५२१ नमुना परीक्षण गरिएको थियो । यसको अर्थ, ७१ जनाको परीक्षण गर्दा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो दरलाई आधार मान्ने हो भने पनि पाकिस्तानमा नियन्त्रित अवस्थामा देखिन्छ ।

कसरी आयो त पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणमा ?

पाकिस्तानमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि शुरुमा केही समय लकडाउन गरिएको भए पनि उसले लामो समय भने लकडाउन कायम राखेन ।

अर्थतन्त्र समस्यामा पर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको महामारी जारी रहे पनि अर्थतन्त्र खोल्नुपर्ने भन्दै लकडाउन खुकुलो बनाउने घोषणा गरे । उनको घोषणापछि पाकिस्तानमा कोरोना संक्रमण बढ्न नरोकिए पनि लकडाउन खुकुलो बन्यो ।

सरकारको नीति

कोरोना भाइरसको नियन्त्रणका लागि पाकिस्तान लकडाउनमा मात्र भर परेन । उसले अर्थतन्त्र पनि सुचारु राख्ने र कोरोना भाइरस पनि नियन्त्रण गर्नका लागि ‘स्मार्ट लकडाउन’को योजना अघि सार्‍यो ।

यो योजनाअनुसार कोरोना भाइरसको संक्रमणको हटस्पट बनेको स्थानमा मात्र लकडाउन गर्ने निर्णय गरियो । जसले समग्र मुलुक तथा प्रदेशको अर्थतन्त्रमा समस्या हुन पाएन ।

प्रधानमन्त्री इमरान खानले मुलुकमा थप लकडाउन नगर्ने निर्णय गर्दैगर्दा पाकिस्तानका नागरिकहरुले कोरोना भाइरससँगै बाँच्न सिक्नुपर्ने बताएका थिए । उनले सबै मानिसहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन र भौतिक दुरीको नियम पालना गरी कोरोना भाइरसबाट बच्न आग्रह गरेका थिए ।

यद्यपि पाकिस्तानमा उनले गरेको आग्रह खासै पालना भने नभएको समाचारहरु आएका थिए । विशेषज्ञहरुले भने पाकिस्तानका लागि ‘स्मार्ट लकडाउन’को योजना निकै प्रभावकारी भएकाले कोरोना भाइरस नियन्त्रणमा आएको बताएका छन् ।

उमेर फ्याक्टर

पाकिस्तानको जनसंख्याको औसत उमेर २२ वर्ष छ । कोरोना भाइरस महामारीको असर पनि उमेर समूह अनुसार फरक–फरक पर्छ । यसको असर अहिलेसम्म कम उमेर समूहका मानिसमा न्यून देखिएको छ । यसको अर्थ, पाकिस्तानमा युवा जनसंख्याको कारण त्यहाँ कोरोना भाइरसको असर कम देखिएको हुन सक्ने विशेषज्ञहरुले दाबी गरेका छन् ।

पाकिस्तानजस्तै औसत उमेर समूह केवल २६ वर्ष रहेको भारतमा पनि कोरोना भाइरसबाट हुने मृत्युदर कम देखिएको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने इटालीका मानिसको औसत उमेर ४६ दशमलव ५ वर्ष छ । जसका कारण कोरोना भाइरसका कारण मृत्युदर त्यो मुलुकमा बढी देखिएको थियो ।

सामाजिक डर

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित मानिसले समाजमा अपहेलित हुनुपर्ने भयका कारण धेरै मानिसहरु कोरोना भाइरसको परीक्षण गराउन अस्पताल नआएको विभिन्न प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार गम्भीर लक्षण देखिएका मानिसहरु मात्र अस्पतालमा उपचारका लागि आएका छन् । अन्य मानिसहरु अस्पताल गएर परीक्षण गराई कोरोना संक्रमितको कलंक भोग्नुभन्दा सामान्य लक्षण देखिए घरमा नै क्वारेन्टिनमा बस्नु उचित सम्झेर घरमा नै बस्ने गरेका छन् । जसका कारण पनि पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या कम देखिन गेको कतिपयको विश्लेषण छ ।

त्यसो त यस किसिमको अवस्था भारतमा पनि नभएको चाहिँ होइन । तर, पनि भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

विशेषज्ञहरुका अनुसार पश्चिमा मुलुकको तुलनामा पाकिस्तानको संस्कृति भिन्न किसिमको रहेको र सांस्कृतिक चालचलनले पनि मानिसहरुलाई कोरोनाको संक्रमण हुनबाट केही हदसम्म बचाएको छ ।

अस्पतालमा कोरोना भाइरसका बिरामी घटे

अन्य कारणले पाकिस्तानमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा घट्यो भन्ने बलियो आधार नभए पनि अस्पतालमा कोरोना भाइरसका बिरामीको संख्यामा आएको उल्लेख्य कमीले भने कोरोना भाइरस यो मुलुकमा नियन्त्रणको क्रममा रहेको देखाउँछ ।

यसअघि पाकिस्तानका अस्पतालमा खचाखच हुने बिरामीहरुको संख्यामा अहिले उल्लेख्य कमी आएको छ । पाकिस्तानका स्वास्थ्य अधिकारीहरु यो संख्या कसरी घट्यो भन्ने स्पष्ट कारण नभए पनि अहिले संक्रमणमा उल्लेख्य कमी आएको बताउँछन् ।

दोस्रो लहरको सम्भावना

कोरोना भाइरसको संक्रमण कम भएसँगै पाकिस्तानमा यसअघि लगाइएको अधिकांश प्रतिबन्ध खुला गरिएको छ । अहिले रेष्टुरेन्ट र पार्कहरु खुलिसकेका छन् । थिएटर, मल र सार्वजनिक यातायातजस्ता मानिसहरुको भिडभाड हुने क्षेत्र खुलिसकेका छन् । जसका कारण पाकिस्तानका सार्वजनिक स्थानमा मानिसहरुको भिड बढेको छ । यसले आगामी दिनमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने सम्भावना रहेको विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय