जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमण फैलिएपछि बारामा गत साउन १७ गतेदेखि लगाएको निषेधाज्ञा मंगलवारबाट केही खुकुलोे भएको छ । सोमवार बसेको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी सामान्य जनजीवन सहज बनाउँदै लगिने निर्णय गरेको हो ।

शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्स बार, पुस्तकालय, सपिङ मल, स्पा सैलुन, व्युटी पार्लर, स्वीमिङ पुल, जिमखाना, रिक्सा, साइकल ठेलागाडामा गर्ने व्यवसाय र कवाडी संकलन भने बन्द गरिएको छ । यीबाहेक अन्य व्यवसाय विहान १० देखि ४ बजेसम्म खुला हुने भएको छ ।

संक्रमणको जोखिम उस्तै छ तैपनि सबैको धारणा सहज बनाऔं भन्ने आयो त्यसैले बिहान १० बजेसम्म सबै व्यवसाय खोल्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

बारा जिल्लामा मंगलबारबाट निषेधाज्ञा खुकुलो भएको छ । जिल्ला सुरक्षा समिति र डिसिसिएमसीको बैठकले मंगलबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका सबै स्थानीय तहहरुमा जारी निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

बैठकले खाद्यान्न, किराना पसल, ग्याँस, इन्धन, दूध डेरी, तेल, घिउ, मरमसलासमेतका अन्य पसल व्यावसायहरु बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खुल्ला गर्ने र यसको लागि भौतिक दुरी कायम राख्नु पर्ने निर्णय गरेको छ ।

साथै दैनिक उपभोग्यजन्य तरकारी, माछा, मासु तथा फलफूल पसलहरु पनि संचालन गर्न पाइने भएको छ । कलैयाको मुख्य बजार क्षेत्रको पूर्वतर्फ हनुमान मन्दिर, पश्चिम नेपाल बाल संगठनको भवन, उत्तर देवकोटा चोक र दक्षिण पावरहाउस चोकको चार किल्लाबाहिरमात्र त्यस्ता बस्तुहरु बिक्री वितरण गर्न नपाइने छ ।

त्यसैगरी सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कार्यालय प्रमुखसहित ५० प्रतिशत स्थानीय आवासीय कर्मचारीहरुमार्फत कार्यालयको काम सम्पादन गर्ने, प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयहरुले भने स्थानीय तह अनुसारको आलोपालो सेवा प्रवाह हुने गरी भदौँ १७ गतेदेखि सेवा प्रवाहको व्यवस्था मिलाउनेसमेत निर्णय भएको छ ।

बैठकले बैंक तथा वित्तिय संस्था र उद्योग, व्यवसाय, प्रतिष्ठानहरु तथा निर्माण कार्य संचालन गर्दा संभावित कोरोना संक्रमण जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने पनि निर्णय गरेको छ ।

निर्णय अवज्ञा गरी सवारी साधन वा मोटरसाईकल चलाएमा वा हिडडुल गरेमा वा अनधिकृत रुपमा पसल सञ्चालन गरेमा संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारवाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय