नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चार जनाको मृत्यु भयो । चारमध्ये तीन जनाको मृत्यु वीरगञ्जमै भयो भने पाटन अस्पताल, ललितपुरमा मृत्यु भएका संक्रमित पनि वीरगञ्जसँगै जोडिएका छन् ।

– वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमन उपचारका क्रममा बिहीबार मृत्यु भयो । ज्वरो आउनुका साथै श्वासप्रस्वासमा समस्या आएपनि मंगलबार अस्पताल पुगेका स्वाब संकलन गरेर उनको आकस्मिक कक्षमै उपचार भइरहेको थियो । बेलुकी ७ : ४० बजे उनको मृत्यु भयो । मृत्यु भइसकेपछि आएको रिपोर्टमा कोरोना संक्रमण पाइयो ।

– जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको बिहीबार राति ११ बजेतिर मृत्यु भयो । मुटुको वाइपास सर्जरी गरिसकेका ५६ बर्षीय उनलाई कोरोना संक्रमण भएको साउन ६ गते नै पुष्टि भएको थियो । साउन ७ गते दिउँसो गण्डक अस्पतालमा भर्ना भएका उनको आईसीयूमा उपचार चल्दै थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बिहीबार दिउँसोदेखि शरीरमा अक्सिजनको मात्रा कम हुँदै गयो । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन सकिएन ।

वीरगञ्ज–२ छपकैयाका ६५ बर्षीय पुरुषको घरमै मृत्यु भएको थियो । उनी सुगरका विरामी भएको थाहा पाएपछि नारायणी अस्पतालको टोलीले स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पाइयो ।

पर्साको वीरगञ्जमा पहिलो पटक २९ चैत २०७६ मा तीन जना भारतीय जमातीमा कोरोन भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसयता उकालो लागेको कोरोना संक्रमितको ग्राफ असार मध्यतिर आइपुग्दा निकै घटेको थियो । दैनिक पहिचान हुने संक्रमितको संख्या घटेर दुई अंकभन्दा पनि कममा आइपुगेको थियो ।

तर अहिले अवस्था फेरिएको छ । वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । संक्रमितको संख्या मात्र बढेको छैन, पछिल्लो ९ दिनमा मात्र जिल्लाका ९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय, पर्साका तथ्यांकअनुसार जिल्लामा हालसम्म ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३९ स्वास्थ्यकर्मी, १५ कैदी, ८ सुरक्षाकर्मी, ८ अस्पताल सफाइकर्मी, २ एम्बुलेन्स चालक र दुई जना पत्रकारसमेत रहेका छन् ।

मृत्यु अधिकांश दीर्घरोगी

साउन महिनामा कोभिड–१९ को संक्रमणबाट वीरगञ्जमा मृत्यु भएकामध्ये धेरै दीर्घरोगी छन् ।

४ जनामा मुटुसम्बन्धी समस्या थियो । उनीहरुमध्ये दुई जनामा मधुमेह पनि थियो । यस्तै दुई जना मृगौलासम्बन्धी समस्याले पीडित थिए भने एक जना मधुमेहको उपचार गराउँदै आएका व्यक्ति हुन् ।

धेरै संक्रमितमा अक्सिजन कमी हुने र श्वासप्रस्वासमा समस्या आउने गरेको अस्थायी कोभिड अस्पताल गण्डकका कोअर्डिनेटर डा. उदयनारायण सिंह बताउँछन् ।

‘पछिल्ला दिनमा लक्षण भएका संक्रमित धेरै देखिएका छन्’ उनले भने, ‘संक्रमित मध्ये दीर्घरोगीहरुलाई बढी गलाएको छ । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनीहरुले श्वास लिन सक्दैनन् र मृत्यु हुने गरेको छ ।’

तर दीर्घरोग नभएका एक जना पुरुष र महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको उपचारमा संलग्न डा. निरज सिंहकाअनुसार युवा उमेरकाहरुमा संक्रमणको असर तत्काल देखिँदैन । त्यसैले उनीहरुले उपचारका लागि पनि ढिलो आउँछन् । त्यही कारण जोगाउन गाह्रो भएको उनी बताउँछन् ।

‘बिहीबार मृत्यु भएका ३५ बर्षीय युवकलाई साउन ५ गते ज्वरो आएको रहेछ, तर १३ गते मात्रै स्वाब संकलन भयो । रिपोर्ट नआउँदै उनको स्वास्थ्य अवस्था बिग्रिन थालिसकेको थियो’ डा सिंहले भने, ‘कोरोना परीक्षणको रिपोर्ट नआई आइसोलेसनमा राख्न सकिएन । इमर्जेन्सीमा राख्नु र आईसीयूमा उपचार गर्नुमा धेरे फरक हुन्छ ।’

यसले कोभिड अस्पतालको इमर्जेन्सीमै आईसीयू र भेन्टिलेटर सुविधा पनि राख्नुपर्ने आवश्यकता औल्याएको डा. सिंह बताउँछन् ।

लगातारको मृत्युले के संकेत गर्छ ?

वीरगञ्जमा समुदाय स्तरमा संक्रमण फैलिएको सरकारले स्वीकार गरेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु ‘नेपालमा समुदायमा संक्रमण फैलिएको प्रमाणित भइसकेको छैन’ भन्ने रटान लगाइरहेको छ । तर जनस्वाथ्य विज्ञहरुले भने वीरगञ्जमा समुदायमा संक्रमण फैलिसकेको बताउँछन् ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । त्यसले गर्दा घरमा बसेका दीर्घरोगी, वृद्ध उमेरका मानिसमा पनि संक्रमण पुष्टि भएको छ ।’

वीरगञ्जमा समुदायमा धेरै प्रतिशत मानिस संक्रमित भइसकेको हुनसक्ने संकेत आएको भन्दै उनले यस्तो अवस्थामा जोगाउँछु भन्दा पनि जोगाउन नसक्ने अवस्था आउनसक्नेतर्फ सतर्क रहनुपर्ने बताए ।

जनस्वास्थ्य विज्ञ समीरमणि दीक्षित वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको र जोखिम समूहसम्म पुगेको पछिल्लो स्थितिले देखाउने बताउँछन् । ‘हामीले परीक्षण दायरा बढाएर ट्रेसिङ गर्नुपर्छ, जोखिम समूहमा पुग्न दिन हुँदैन । पुगेपछि रोक्न गाह्रो हुँदै भन्दै आएका हौं’ उनले भने, ‘अहिले वीरगञ्जमा भएको त्यही हो । लुकीछिपी समाजमा गए, उनीहरुलाई केही भएन । तर जोखिम समूहलाई सारे । ९ दिनमा ९ जनाको मृत्यु हुनु राम्रो संकेत हैन ।’

अब जोखिममा रहेको समूहलाई बचाउनतर्फ लाग्नुपर्ने उनले बताए । त्यसका लागि माक्स लगाउने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुपर्छ ।

युवा उमेरका मानिसको मृत्युबारे भने अध्ययन नगरी भन्न नसकिने उनले बताए । ‘अधिकांश मृतक जोखिम समूहकै छन् । तर अरु रोग नभएका युवा अवस्थाका मानिसको पनि मृत्यु भएको छ’ दीक्षित भन्छन्, ‘केसको अध्ययन नगरी यसबारे भन्न सकिन्न ।’

उनीहरुकाअनुसार वीरगञ्जको अवस्था केही समय पहिले भारतको दिल्लीको जस्तै छ । जनस्वास्थ्यविज्ञ डा. किरणराज पाण्डे भन्छन्, ‘जनसंख्याका हिसाबले दिल्लीको एउटा सानो हिस्सा बराबर होला, तर कोरोना संक्रमणको हिसाबले धेरै कुरा मिल्दो जुल्दो देखिन्छ ।’

भारतको नयाँदिल्लीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ । १ लाख ३४ हजार बढी संक्रमित भएका छन् भने झण्डै ४ हजारको मृत्यु भएको छ । यद्यपि पछिल्लो समय दिल्ली सरकारको निरन्तरको प्रयासपछि मृत्युदर भने निकै कम भएको छ । वीरगञ्जको हकमा भने सरकारले समुदायमा संक्रमण छ भन्ने स्वीकार नै नगरेका कारण त्यसअनुसार काम हुन सकेको छैन ।

कतिपयले यसअघिभन्दा कडा खालको कोरोना भाइरस फैलिएको हुनसक्ने आशंका छ । तर यसबारे अनुसन्धानात्मक अध्ययन तथा परीक्षण हुन सकेको छैन ।

‘लक्षणसहित कडा संक्रमण देखिएको छ । रोगसँग लड्ने क्षमता कमजोर भएका दिर्घ रोगी, वृद्धबुद्धाका साथै युवाको पनि मृत्यु भएको छ’ नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले अनलाइनखबरसँग भनेका छन्, ‘कडा खालको भाइरस आएको हो वा अरु केही छ भन्ने थाहा पाउन अध्ययन गर्न आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय