एक हजार रुपैयाँको नोटमा भएको नेपाली हात्तीको तस्वीर (माथि), विदेशी हात्ती रहेको पुरानो नोट (तल)

नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ ।

हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो ।

हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

नेपालमा यति धेरै हात्ती हुँदाहुँदै पनि नोटमा अफ्रिकन हात्तीको फोटो प्रयोग गर्ने राष्ट्र बैङ्कलाई नेपाली हात्तीको फोटो राख्ने सुझाव र ज्ञान कसले दियो त ?

२०६९ सालको मंसिर महिनामा बजारमा केही नयाँ नोट छाप्न दिनुपर्ने अवस्था आएकाले नोट तथा सिक्का डिजाइन समितिको बैठक बसेको थियो । त्यतिबेला समितिका संयोजक तत्कालीन गभर्नर डा. युवराज खतिवडा थिए भने डेपुटी गभर्नर थिए महाप्रसाद अधिकारी । सो बैठकमा राष्ट्रिय निकुञ्जका तर्फबाट आउने प्रतिनिधिका रूपमा तत्कालीन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका महानिर्देशक मेघबहादुर पाण्डे उपस्थित थिए । इतिहासविद्का रूपमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि बैठकमा बोलाइएको थियो ।

नोट तथा सिक्का प्रकाशन गर्नुपूर्व पनि नेपाल राष्ट्र बैङ्कका गभर्नरको संयोजकत्वमा रहेको सिक्का डिजाइन तथा सिफारिस समितिले निर्णय गरेर राष्ट्र बैङ्कको बोर्ड बैठकमा पेश गर्ने गर्छ । बाहिर देखिने फोटो परिवर्तन गर्ने काम राष्ट्र बैङ्कको बोर्डबाट पारित भएपछि मन्त्रिपरिषदसम्म पुग्ने गर्छ । त्यसपछि मात्रै नयाँ नोट छपाइको प्रक्रियामा जाने गर्छ । सो डिजाइन गरेर सिफारिस गर्ने समितिमा भाषाविद्, पुरातत्वविद्, वन्यजन्तु विशेषज्ञ, इतिहासविद् लगायत विभिन्न क्षेत्रका एक÷एक जना प्रतिनिधि संलग्न हुने गर्छन् ।

बैठकमा सहभागी पाण्डेले सुरुमा नै नेपाली नोटमा प्रयोग गरिने नोटहरूको विषयमा आपत्ति जनाए । नेपालमा पाइने वन्यजन्तुको साटो विदेशी वन्यजन्तुलाई नोटमा समेटिएकोप्रति उनको आपत्ति थियो । पाण्डेको सो प्रस्तावलाई जोशीले पनि एकै झोक्कामा सहमति जनाए । जोशीपछि गभर्नर डा. खतिवडा र डेपुुटी गभर्नरले यसमा मञ्जुरी दिएपछि एक हजार रुपैयाँको नोटमा गलत फोटो प्रयोग भएको निश्कर्ष निकालियो र नेपाली वन्यजन्तुकै फोटो खिचेर राख्ने निर्णय भयो । त्यसका लागि फोटो संकलन गर्न डेपुटी गभर्नरको संयोजकत्वमा समिति नै गठन भएको थियो ।

मंसिरताका भएको बैठकले पाण्डेलाई हरेक नोटमा प्रयोग भएका वन्यजन्तुको फोटो खिच्ने जिम्मेवारी दिएको थियो । जिम्मेवारीपछि आफूले फोटो ग्राफरलाई चितवन पठाएर जुम्ल्याहा वन्यजन्तुको फोटो खिच्न लगाएको पाण्डे बताउँछन् । उनी भन्छन् ‘राष्ट्रिय निकुञ्जमा त हरेक वन्यजन्तुको तस्वीर हुन्छ । तर, हजारको नोटमा राख्ने हात्तीका लागि फोटो खिच्न छुट्टै फोटोग्राफर पठाएको थिएँ ।’

मंसिरमा गठन भएको सो समितिले ६ महिनापछि सबै फोटो राष्ट्र बैङ्कलाई बुझायो । पाँच सय रूपैयाँको नोटमा बाघको फोटो थियो । तर, त्यो बाघ पनि नेपालमा पाइने बाघ थिएन । त्यसको पुच्छर साइबेरियन हिमालमा पाइने बाघको जस्तो थियो । शरीरको अगाडि झुप्प परेको भुत्ला पनि नेपालको बाघमा नदेखिनेखालको थियो । पाण्डे भन्छन् ‘त्यो बाघ पनि नेपाली बाघ होइन । त्यसमा रहेको पुच्छर र भुत्लाले त्यो नेपाली बाघ नभएको स्पष्ट पाथ्र्याे । हामीले पाँच सयको नोटमा त्यो पनि परिवर्तन गर्न सुझाव दियौं ।’

राष्ट्र बैङ्कले यो निर्णय गर्दा नेपालमा अति दुर्लभ मानिने जुम्ल्याहा हात्ती जन्मिएको ४÷५ वर्ष भइसकेको थियो । अर्काेतिर, नोटमा प्रयोग गरिएको हात्ती विदेशी पाइएपछि स्वदेशी जुम्ल्याहा हात्तीलाई हजारको नोटमा प्रयोग गर्ने निर्णय गरिएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।

अहिले पनि विश्वमा मुस्किलले आधा दर्जन मुलुकमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् । तीमध्ये नेपाल, श्रीलंका, केन्या र थाइल्याण्ड लगायतका मुलुकहरूमा मात्रै जुम्ल्याहा हात्ती जन्मिएका छन् ।

पाण्डेका अनुसार ५० रुपैयाँमा भएको याकको फोटो झुम्लुङ्ग परेकोले त्यसले पनि नेपालीपन नदेखाउने र त्यो अमेरिकन बाइसनको स्वरुपमा रहेकोले त्यसलाई पनि सोही समितिले परिवर्तन गर्नको लागि नयाँ फोटो उपलब्ध गराएको थियो । त्यस्तै, २० रुपैयाँको नोटमा झारलको फोटो त्यो, त्यो नेपालमा पाइएको झारलको फोटो नरहेको पाण्डे बताउँछन् । त्यसलाई पनि समितिले फोटो उपलब्ध गराएर परिवर्तन गर्न सुझाव दिएको थियो ।

सबै फोटोहरू संकलन भइसकेपछि २०७० सालको जेठ महिनामा राष्ट्र बैङ्कले हजारको नोटमा जुम्ल्याहा बच्चाहरूसहित अरू गलत फोटो भएका सबै नोटमा नेपाली वन्यजन्तुको फोटो प्रयोग गर्ने निर्णय गरेको थियो ।

किन ढिलो छापियो नोट ?

नयाँ नोट छाप्ने २०७० सालको निर्णयलाई २०७७ सालमा मात्रै किन कार्यान्वयन गरियो त ? भन्ने प्रश्नमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले यसको प्रक्रिया ढिलो नभएको दाबी गरे । उनका अनुसार सम्झौता भएको आठदेखि नौ महिनामा नोट बजारमा आउने गर्छ ।

नेपालले नोट समयमै छापिए पनि नेपाल आइपुग्न लकडाउनका कारण केही ढिला भएको बताए । उनले भने ‘यसको प्रक्रिया ढिला भएको होइन । लकडाउनका कारण कोलकाता बन्दरगाहमा केही समय रोकिएको बाहेक अरू सबै प्रक्रिया द्रूत गतिमा सम्पन्न भएको छ ।’

राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार सो समितिले २०७० सालमा नै निर्णय गरेको भए पनि मन्त्रिपरिषदले निर्णय गर्नेदेखि छपाइ प्रक्रिया सुरु गर्नेसम्मको प्रक्रियामा नै ढिलाइ भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय