पाँच दिनयता विभिन्न खोलाहरूमा आएको बाढीले जिल्लाको सयौं बिघा खेतीयोग्य जमिन बगर बनेको छ । बाढीले त्यहाँ भर्खरै रोपिएको धानबालीसमेत मासिदिएको छ ।
जंगल र चुरेक्षेत्रबाट बग्ने खहरे खोला नियन्त्रणको प्रयास नहुँदा भावर क्षेत्र हुँदै दशगजासम्मका किसानले बाढीबाट नोक्सानी बेहोर्नुपरेको छ ।
बंगरी र किरकिचहा खोला मिसिएको प्रसौनी गाउँपालिका–५ प्रस्टोका बेलहियामा एकै ठाउँ साढे तीन सय बिघा धानबाली कटानमा परेको छ । ‘डेढ सय किसानको साढे तीन सय बिघा जमिन कामै नलाग्ने अवस्थामा पुगेको छ,’ प्रसौनी गाउँपालिका–५ का सहिम अन्सारीले भने, ‘मेरो मात्र डेढ बिघा जमिन बगर भएको छ ।’ प्रदेश सरकारको बजेटबाट दोभानमा एउटा बाँध बनाइए पनि त्यसले थेग्न नसकेको हो । अन्सारीका अनुसार दोभानमा दुईवटा बाँध बाँधिएको भए यस्तो क्षति हुँदैनथ्यो । पीडित किसानहरूले विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र दिँदै खोला नियन्त्रणको लागि ध्यानाकर्षणसमेत गराएका छन् ।
यसै गरी जितपुरसिमरा उपमहानगरपालिका–१९ को इनर्वासिरा गाउँनजिकको बंगरी खोलामा बाढी आउँदा ५० बिघाभन्दा बढी धानबाली बालुवाले पुरिएको किसान महेन्द्र साहले बताए । कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार चुरे पहाडबाट बालुवा, ढुंगा झिक्दा पनि त्यसको असर खेतीयोग्य जमिनमा पर्ने गरेको छ । बर्खामा चुरे भासिएर यहाँ बर्सेनि ठूलो क्षति हुने गरेको पाइएको छ । ‘जिल्लाको ६० हजार हेक्टर धानखेती गरिने जमिनमध्ये १० देखि २० प्रतिशतमा ती खोलाबाट क्षति हुने गरेको छ,’ उनले भने ।
हिउँदमा चुरे पहाडको फेदबाट ठूला मेसिन प्रयोग गरेर दैनिक सयौं ट्रक बालुवा–ढुंगा निकालिँदा त्यसको असर दसगजातिर पर्ने र किसानको जमिन कटान हुने गरेको उनको भनाइ छ । चुरे क्षेत्रबाट बाढीसँगै निस्केको बालुवाले यसपालि पनि निकै क्षति पुर्याएको छ ।
चुरे दोहन नरोकिँदा तराईका खेतीयोग्य जमिन बगर बन्दै गएपछि यस भेगका किसान चिन्तित भएको सिम्रौनगढ–८ का रामएकवाल यादवले बताए । ‘बाढीसँगै आएको बालुवा र माटोले धानखेती सखाप पारेको छ,’ उनले भने, ‘खोला नियन्त्रण गरेर खेतीयोग्य जमिन जोगाउने योजना स्थानीय तहसित छैन ।’ यसै गरी चारकोसे जंगलका काँटगाउँ, हरैया, बोधवन, प्रसौना, मधुवन, नयाँ वस्ती, सहजनाथलगायत क्षेत्रका सयौं बिघामा भँगालो पसेर बाली नष्ट गरेको छ।